
गुल्मी । ६ दिनसम्म सञ्चालन भएको रिडी मेलामा यसपटक घरेलु उत्पादनका सामग्रीहरुको राम्रो व्यापार भएको छ ।
हजारौँ मानिसहरुको उपस्थित रहने यस मेलामा राडीपाखी, डोको, डालो, सुपा, काम्लालगायत वस्तुहरुको राम्रो व्यापार हुने गर्दछ । त्यसका अतिरिक्त काठबाट कँुदेर बनाएका ठेका, आरी, ओखरका घाँजी, गुड र चाकु किन्नेहरुको पनि उत्तिकै भीड लाग्ने गर्दछ । रिडी मेलामा बाग्लुङको ढोरपाटनदेखि रोल्पा, पूर्वी रुकुम र जुम्लादेखि मानिस राडीपाखी, काम्लो ओखरका घाँजी बोकेर व्यापारका लागि बर्सेनि आउने गरेका छन् । यसपटक पनि उनीहरुले यो व्यवसायलाई निरन्तरता दिएको स्थानीय सुन्दर कुसजुले बताउनुभयो । ‘उनीहरु मेलामा समूहहरु बनाएर आउने र एक सातासम्म बसेर सामान बिक्री गरी घर फर्कने गर्दछन्’ उहाँले भन्नुभयो ।
वर्ष दिनसम्म आफूले उत्पादन गरेका सामग्रीहरु सङ्कलन गरेर रिडी मेलामा ल्याउने र उक्त सामीग्रहरु बिक्री गरेर घर खर्च चलाउने गरेको पूर्वी रुकुमबाट रिडी आइपुग्नुभएका ५५ वर्षीय मानबहादुर विकले बताउनुभयो । विगतका वर्षमाभन्दा यसपटकको मेलामा राम्रो व्यापार भएको उहाँले बताउनुभयो । मेलामा गिठीको काठबाट कुँदेका ठेका, फलामजन्य सामग्री हँसिया, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्रीको पनि यसपटक राम्रो व्यापार भएको उहाँले बताउनुभयो ।
बाग्लुङको जलजलादेखि ल्याएका निगालो र बाँसबाट बुनेका डोका, नाम्ला, सुपा र डाला किन्नेको पनि उत्तिकै भीड लागेको थियो । ग्रामीण क्षेत्रमा यी वस्तुहरुको उपयोग बढी हुने भएका कारण मानिस यस्ता वस्तु खरिदका लागि रिडी मेलामा आउने गर्दछन् । पछिल्लो समय बजारमा आएका तयारी वस्तुहरुले पुराना हस्तकलाका सामग्रीको बिक्री कम हुँदै जान थालेको व्यापारका लागि रिडी आइपुग्नुभएकी रुकुमकी मनकली श्रीपालीले बताउनुभयो । हातबाट बुनेका कम्बल, काम्लो र राडीपाखीहरुको मूल्य केही महँगो भए पनि लामो समयसम्म टिकाउ र न्यानो हुने उहाँको भनाइ छ ।
यस्ता प्रकारका सामग्री खरिद गर्नेमा अधिकांश पाकापुस्ताका मानिस बढी देखिने गरेका छन । घरेलु उत्पादित हस्तकलाका सामग्रीको विशेषता र महत्व बुझेका मानिसले यस्ता वस्तु खोजीखोजी किनेर लैजाने गरेको स्थानीय अशोक श्रेष्ठले बताउनुभयो । रिडी मेलामा रुरु क्षेत्रको दर्शनसँगै घरेलु सामग्री खरिद गर्नका लागि बुटवल, पोखरा, दाङ, नवलपरासी, चितवन र काठमाडौँदेखि मानिसहरु आउने गर्दछन् ।
उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रुरु फ्रेन्डस क्लब र फ्रेन्डस् क्लब रिडीको संयुक्त आयोजनामा रुरु क्षेत्रमा माघ १ गतेदेखि छ दिनसम्म धार्मिक एवं सांस्कृतिक कार्यक्रमसहित रिडी मेलाको आयोजना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने