
हुम्ला । हिमाली जिल्ला हुम्लामा धामी नाचेर साउन पुनी (जनै पूर्णिमा) धुमधामका साथ मनाइएको छ ।
साउन शुक्ल पूर्णिमाको अवसरमा चतुदर्शीको दिनदेखि मनाउन शुरु हुने साउने पूर्णिमा जिल्लाका रामपा, बाडपाल, कालाशिल्ता, मदना, मष्टो देवताका माडु (मन्दिर) मा पूजाआजा र धामी नाचेर मनाइएको हो । जिल्लाका विभिन्न गाउँबस्तीमा स्थापना गरिएका देवताका माडुमा धामी नाचेर सोमबार पूर्णिमा सम्पन्न भएको छ ।
आफूले मान्ने कूल देवताको पूजापाठ गरिसकेपछि धामी नाचेर पूर्णिमा मनाउन शुरु गर्ने प्रचलन छ । यो पर्व सोमबार अन्तिम दिन सदरमुकाम सिमकोटमा रहेको तल्लो बजारको बाँडपाल लगायत देवताको माडुमा (मन्दिर) धामी नाचेर सम्पन्न गरिएको स्थानीय गोरा रावतले बताउनुभयो ।
जिल्लाका धेरै स्थानमा पूर्णिमा भव्यताका साथ मनाइन्छ । धामी झाँक्रीले एकादशीबाट पूजापाठ र व्रत बस्न सुरु गर्छन् र चतुर्दशीबाट धामी नाच्न थाल्छन् । एकदशीको दिनबाट यहाँका धामी झाँक्रीले एक छाक मात्रै खाना खाने र व्रत बस्ने संस्कार छ ।
पूर्णिमाको दिन सोमबार बिहानैदेखि सदरमुकाम सिमकोट गाउँपालिका– ५ को बाँडपालको माडु (मन्दिर), वडा नम्बर ६ मुग्राधारस्थित कालाशिल्ताको माडुमा धुमधामका साथ धामी नाचेर साउने पूर्णिमा मनाइएको थियो । यसअघि धुपी रुखमा बाँडपालका झाँक्रीले तल्लो र माथिल्लो गाउँका धामी भेट हुनेवित्तिकै दूध छर्किन्छन् । कालाशिल्ता, मष्टो, बाँडपाल, घण्टपाल, समैजी, गुरा, भवानीलगायत धामी पालैपालो नाच्ने दृश्य रोचक हुने गर्छ ।
यस अवसरमा बोकाको बलि पनि दिने गरिन्छ । घरबाट टाढा गएका मानिस पूर्णिमामा आउने भएकाले यो पूर्णिमा भेटघाट हुने पर्वका रुपमा मानिन्छ ।
सिमकोट गाउँपालिका–२ ठेहेस्थित रामपालको माडुमा पनि धुमधामका साथ पूर्णिमा मनाइएको छ । ठेहेका सबैपट्टीका देवताका थानबाट आएका धामीको जात्रा ठेहे गाउँ नजिकैको रामपाल माडुमा जम्मा भएर धामी नाच्दै देवताको पुजाआजा गरिएको हो । जिल्लाको सर्केगाड गाउँपालिका–१ जैरमा पनि पूर्णिमा मनाइएको छ ।
जिल्लाको दक्षिणमा रहेका अदानचुली र ताँजकोट गाउँपालिकाको मेला झाडमाडुमा पनि मदना र बाह्रभाई मष्टोको मुख्य पर्वका रुपमा मनाइने साउन पूर्णिमाको अवसरमा दुवै गाउँपालिकाका मदना र मष्टोका धामीसहितको श्रद्धालु ताजकोट–५ स्थित झाडमाडुमा ठूलो पूजाआज गर्दै धामी नाचेर पूर्णिमा मनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन