
सुदूरपश्चिम । चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ ।
सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिनुभएको छ ।
रूख कटानीको आदेश नआउँदा उक्त सडक स्तरोन्नतिको काम अघि बढ्न सकेको थिएन । कैलालीको लम्कीचुहा नगरपालिका–३ देखि मोहन्याल गाउँपालिका–७ सम्मको यो सडकखण्ड १६ किलोमिटर लामो छ । यसमध्ये आठ किमी सडकखण्डको स्तरोन्नतिका काम सडक विभागमार्फत शुरु भइसकेको इन्जिनियर जोशीले बताउनुभयो । यसका लागि नेपाल सरकारले चालु आर्थिक वर्षमा २ करोड २० लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ ।
कैलालीको पूर्वी भेगबाट पहाडी जिल्लातर्फ जाने यो सडकलाई नेपाल सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनामा पारे पनि लामो समयदेखि स्तरोन्नतिको काम अगाडि बढेको छैन ।
यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सडक स्तरोन्नतिको प्रक्रिया अघि बढाउन वन तथा वातावरणमन्त्री र सचिव, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।
भेटवार्तापछि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाएर सडक स्तरोन्नति गर्नेबारे सम्बन्धित निकायबीच सम्झौता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । त्यो सडकमा पर्ने राष्ट्रिय वन क्षेत्रको ८ दशमलव ९२ हेक्टर जग्गा प्रयोग गर्न र जग्गामा रहेका चार सय ७२ रूख हटाउन सहमति भएको जनाइएको छ ।
प्रदेशको गौरव योजनाअन्तर्गत राखिएको चिसापानी–मङ्गलसैन सडकका लागि प्रदेश सरकारले चालु वर्षमा ५१ करोड १७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने