
कैलाली । टीकापुर–८ वनगाउँका सबै बासिन्दा तरकारीखेतीमा लागेका छन् । शुरुका दिनमा आफ्नै लागि तरकारीमा लागेको भए पनि पछिल्लो समय उनीहरु यसैमै व्यावसायिक भएका छन् ।
तरकारीले बजार पाउन थालेपछि उनीहरु व्यावसायिक खेतीमा लागेको बताउँछन् । ‘हाम्रो पूरै गाउँ तरकारीखेतीमा लागेको छ’ स्थानीयवासी तीर्थ चौधरीले भन्नुभयो– ‘थोरै धेरैको कुरा हो तर सबैजसो तरकारी खेतीमा लागेका छन् ।’
उहाँका अनुसार गाउँमा करिब सय घर छन् ती सबैले मौसमी र बेमौसमी खेती गर्न लागेका हुन् । यतिखेर त्यस गाउँमा खुर्सानी, टमाटर र गोभी उत्पादन भएको देख्न पाइन्छ । टमाटर र गोभीले खासै मूल्य नपाएको किसानको गुनासो छ । टमाटर प्रतिकिलो १०, काउली २० रुपैयाँमा प्रतिकिलो र खुर्सानी ७० रुपैयामा थोक मूल्यमा लिने गरेको उनीहरुको भनाइ छ । खुर्सानीले शुरुमा मूल्य नपाए पनि अहिले राम्रो मूल्य पाएको किसान तीर्थले बताउनुभयो । ‘तरकारीमा राम्रो आम्दानी लिनका लागि अरुको उत्पादनभन्दा पहिला उत्पादन हुनुपर्छ’ चौधरीले भन्नुभयो– ‘काउली र टमाटर सबैसँग भएकाले मूल्य खासै छैन तर सुरुमा उत्पादन गर्नेले धेरै मूल्य पाएका थिए ।’
उहाँले टमाटर र काउली ढिला भयो भन्दै खुर्सानीबाट आम्दानी लिने बताउनुभयो । मौसमी तरकारीखेती गर्दै आएका किसानले मौसमीभन्दा बेमौसमी तरकारीले मूल्य पाउने कुरा बुझेपछि बैमौसमी तरकारी उत्पादन गर्न आकर्षित भएका छन् । समयभन्दा छिटो उत्पादन गर्दा राम्रो मूल्य पाइन्छ र सबैको उत्पादन भएपछि बजार मूल्य पाइँदैन भन्ने कुरा सबैले बुझ्दै गएको स्थानीय मानबहादुर चौधरीले बताउनुभयो । किसानले पाँच कट्ठादेखि एक बिघासम्म तरकारीखेती गर्दै आएका छन् ।
राजापुर र टीकापुर बजारमा तरकारी खपत हुन् थालेपछि त्यस गाउँका किसान तरकारीखेतीमा हौसिएको मानबहादुरले बताउनुभयो । ‘हाम्रो उत्पादन भएको तरकारी बर्दियाको राजापुर र टीकापुरका थोक व्यापारीले खरिद गर्ने गरेका छन्’ चौधरीले भन्नुभयो– ‘गाउँमै आएर तरकारी किन्ने गरेका छन्, कतिपयले आफँै हाटबजारमा लगेर बिक्री गर्ने गरेका छन् ।’
कात्तिकमा लगाएको तरकारी पुस महिनाबाट बिक्री गर्न तयार भएको चौधरीले बताउनुभयो । ‘कात्तिकमा लगायौँ, ढिलो भएकाले उत्पादन पनि ढिलो हुँदा खासै मूल्य पाइएन’ चौधरीले भन्नुभयो, ‘गाउँ पूरै तरकारीखेतीमा लागेकाले तरकारीका थोक व्यापारीलाई पनि सहज भएको छ ।’
तरकारीका थोक व्यापारी वनगाउँमा तरकारी पाइन्छ भनेर ढुक्क भएर आउने गरेको स्थानीयको भनाइ छ । किसानले आफ्नो बिक्री भएपछि अर्को छिमेकीको बिक्रीमा सघाउने गरेका छन् । उत्पादन भएको तरकारी लगभग बिक्री भएको अवस्था छ । यसरी तरकारीको आम्दानीले सामान्य खर्च धान्न सजिलो हुने गरेको भौना चोधरीले बताउनुभयो ।
चौधरी गाविसका पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । उसो त उनीहरु धान र गहुँ खेती पनि गर्छन् । बाढी ग्रस्त क्षेत्र भएपनि त्यो गाउँ तरकारीमा आत्मनिर्भर भनेर चिनिन थालेको छ । ‘गाउँ पूरै तरकारीमा लागेको हुँदा युवा र महिला पनि आफ्नो पकेट खर्च निकाल्न तरकारीखेतीमा लागेको पाइन्छ’ भौनाले भन्नुभयो– ‘आधुनिक बीउ पाइने र टनेलमार्फत खेती गर्दा बेमौसमी खेती गर्न सजिलो भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने