
चितवन । भरतपुर महानगरपालिका–२२ का किसानले ७ जातका गहुँबाली परीक्षण गरेका छन् ।
पदम कञ्चन कृषक पाठशालामा आबद्ध २५ कृषकले विभिन्न किसिमका गहुँको बीउ उत्पादन र गुणस्तरीयताको परीक्षण गरेका हुन् ।
गहुँको गुणस्तरीय बीउ उत्पादनसम्बन्धी पदम कञ्चन पाठशालामा सिकेका सीप प्रभावकारी भए÷नभएको मूल्याङ्कन गर्न सामूहिक रूपमा सात जातका गहुँबालीको परीक्षण गरिएको एकीकृत सत्रुजीव व्यवस्थापन (आइपिएम) का सहजकर्ता वासुदेव सापकोटाले बताउनुभयो । उहाँका अनुसार जातीय, दूरी, उपचार विधि र मलखादसम्बन्धी परीक्षण भइरहेको छ ।
एक हजार वर्गमिटर (तीन कट्ठा) क्षेत्रफलमा लगाइएको बाली परीक्षण गरिएको सहजकर्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘विभिन्न जातका गहुँलाई ‘प्लट’ बनाएर परीक्षण गरेका छौँ । स्वच्छ बीउ कसरी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ ।’ उहाँका अनुसार गौतम, विजय, खैन, एनएल–९७१, सिएल–१४१२, एनएल–१६२७ र विएल–४३४१ जातका गहुँको परीक्षण गरिएको हो ।
स्थानीय दीननाथ आचार्यले गहँु लगाउने र मल राख्ने विधि, विषादी प्रयोग गर्ने तरिकालगायत विषयमा यो परीक्षणबाट प्राविधिक ज्ञान प्राप्त भएको बताउनुभयो । गहुँबालीमा रासायनिकभन्दा प्राङ्गारिक मलको प्रयोगले उपयुक्त हुने देखिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो– ‘हामीले गाईभैँसीको गोबर, कुखुराको सुली र रासायनिक मलको प्रयोग गरेर प्लट बनाएका छौँ । त्यसमा कुखुराको सुली र गोबर प्रयोग गरेको ठाउँमा गुणस्तरीय उत्पादन भएको पाएका छौँ ।’
समूहका सदस्य खेमराज भण्डारीले घरायासी विषादी राखेको ठाउँमा लामो समयसम्म सत्रुजीवले आक्रमण गर्न नसक्ने पाइएको बताउनुभयो । उहाँका अनुसार पशुचौपायको रगत, गाईको गहुँत, सुर्ती, लसुन, अदुवा, निम लगायत जडीबुटीबाट बनाइएको विषादी प्रयोग गर्दा लामो समयसम्म सत्रुजीवले आक्रमण नगर्ने पाइएको हो ।
उहाँले भन्नुभयो– ‘पशुचौपायको आधा लिटर रगतमा ४० लिटर पानी हालेर प्रयोग गरिएको र अन्य घरायासी विषादी प्रयोग गरिएको ठाउँभन्दा रासायनिक विषादी प्रयोग गरिएको ठाउँमा सत्रुजीवले चाँडो आक्रमण गरेको पायौँ ।’
घरायासी विषादीमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने गरेको परीक्षणका क्रममा पाइएको उहाँको भनाइ छ । गहुँखेती गर्ने किसानले रासायनिक विषादीको विकल्पमा घरायासी विषादीको प्रयोग गरे सस्तो हुनुका साथै गुणस्तरीय उत्पादन हुने भएकाले त्यहीअनुसार मल र विषादीको प्रयोग गर्न उहाँले सबै किसानलाई सुझाव दिनुभयो ।
यस क्षेत्रका किसानले गौतम जातको गहँु बढी क्षेत्रफलमा लगाउने गरेका छन् । अहिले सात जातका गहुँको परीक्षणले कस्तो प्रतिफल दिन्छ हेरेर जात परिवर्तन गर्ने तयारीमा समूहका कृषक रहेका छन् । समूहकी सदस्य डम्बरकुमारी आचार्यले यस कार्यक्रमले गहुँखेतीसम्बन्धी प्राविधिक ज्ञान, सीप र मल तथा विषादीको प्रयोगबारे जानकारी दिएको बताउनुभयो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख झलकनाथ कँडेलले कृषि प्रसार कार्यक्रमअन्तर्गत यस्ता योजना सञ्चालन गरिएको भन्दै यसले कृषकलाई कुन बाली कसरी लगाउँदा फाइदा हुन्छ भन्ने विषयमा ज्ञान दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘किसानले बाली लगाउनेदेखि भित्र्याउने समयसम्ममा देखिने समस्याहरू समाधानका लागि यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने