
महोत्तरी । ‘समाजका लागि आफू जोडिन पर्छ’ भन्ने ध्येय र उद्देश्यकासाथ महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीले सामाजिक र परोपकारी काममा चासो बढाएका छन् ।
क्याम्पसका स्नातक तहमा अध्ययनरत छात्रछात्राले यो उद्देश्यका लागि नागरिकको जीवनसँग जोडिएको रक्तदानलाई रोजेका छन् । ‘हामी आफ्ना गाउँठाउँमा पढेलेखेकामा गनिन्छौँ, सबैले यो त कलेज पढ्ने भनेर चिनाउँछन्’ स्नातक पहिलो वर्षकी १९ वर्षीया छात्रा राधा महतो भन्नुहुन्छ– ‘तर कुनै सामाजिक काममा आफू नजोडिएको कुराले केही त गर्नुपर्छ भन्ने लाग्यो, त्यसैले साथीहरुसँगको परामर्शबाट समाजमा जोडिने पहिलो काम रक्तदानलाई रोज्यौँ ।’ विद्यार्थीले बर्दिबास–३ स्थित रेडक्रस बर्दिबास उपशाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको सञ्चालनमा सहयोग पु-याउन क्याम्पसमै रक्तसञ्चार केन्द्र सहयोगार्थ दानपेटिका पनि स्थापना गरेका छन् ।
‘हामी आर्जनको काममा त छैनौँ । तर खाजा खान बा–आमाबाट केही रकम पाउँछौँ’ स्नातक तहकै अर्की छात्रा अञ्जली सिंह भन्नुहुन्छ– ‘त्यसैबाट एक÷दुई रुपैयाँ छुट्याएर यो दानपेटिकामा राख्ने निधो गयौँ ।’ पेटिकामा जम्मा भएको रकमले रक्तसञ्चार केन्द्रको व्यवस्थापनमा थोरै भए पनि आफ्नो योगदानले हामी पनि समाजका लागि केही गर्दैछौँ भन्ने अनुभूति मिल्ने उहाँको भनाइ छ ।
विद्यार्थीले थालेको पहिलो प्रयत्नमै ६० थैला रगत सङ्कलन भएको छ भने दानपेटिकाका लागि विद्यार्थीले गरेका आह्वानमा शिक्षक र अभिभावकले सहयोग गर्दा एक घण्टाभित्रै १० हजार बढी रकम सङ्कलन भएको कार्यक्रमका संयोजन सहयोगी क्याम्पसका शिक्षक कवीन्द्र कट्टेलले जानकारी दिनुभयो ।
‘विद्यार्थीमा सामाजिक काममा लाग्ने हुटहुटी देखियो, क्षेत्र पनि उनीहरुले नै रोजे, हामीले संयोजन र समन्वयमा सहजीकरण गरिदियौँ’ उहाँ भन्नुहुन्छ– ‘पहिलो प्रयत्न नै उत्साहवद्र्धक रह्यो ।’ विद्यार्थीको आग्रहमा क्याम्पस प्रशासनले रेडक्रस बर्दिबास उपशाखासँग रक्तदान कार्यक्रममा प्राविधिक सहयोगका लागि समन्वय गरीदिएको उहाँले स्पष्ट पार्नुभयो ।
रक्तदान र दानपेटिका व्यवस्थापनको कामबाट असल कुरा सोचेर काममा सङ्कल्पसाथ लाग्दा सुखद परिणाम पाइने आशा जागेको विद्यार्थीको भनाइ छ । ‘हामीले छोटो समयको तयारीमै गरेको कामले ठिकै परिणाम आएको ठानेका छौँ’ क्याम्पसकी छात्रा सरस्वती कुशवाहा भन्नुहुन्छ– ‘यसले हामीलाई सिर्जनशील ऊर्जा दिएको छ, अब हामी अझ परिणाममुखी कामबारे सोच्न सक्नेछौँ ।’
विद्यार्थीमा सामाजिक र परोपकारी कामबारे बढेको चासोले क्याम्पस प्रमुख चेतबहादुर खड्का पनि दङ्ग हुनुहुन्छ । छात्रछात्रामा बढेको यो सकारात्मक चासोले पछिसम्म उहाँहरुलाई सामाजिक कर्तव्य र दायित्वले झकझकाइरहने उहाँको विश्वास छ । विद्यार्थीको यो तत्परता र सामाजिक लगावले शिक्षक, क्याम्पस प्रशासन र क्याम्पस व्यवस्थापन समिति खुशी देखिन्छन् । ‘हाम्रा विद्यार्थीले समाजप्रतिको जिम्मेवारीबोध बढाएका छन्’ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमाल भन्नुहुन्छ– ‘यिनले निकै सकारात्मक आशा जगाए ।’
अहिले विद्यार्थीले थालेका यो पहलमा आम अभिभावक पनि गद्गद देखिन्छन् । विद्यार्थीले देखाएका सामाजिक कामप्रतिको तत्परताले भरोसा र विश्वास जगाएको बर्दिबास–१४ का बासिन्दा अभिभावक राम अधिकारी बताउनुहुन्छ । सबैतिरबाट आफूहरुको प्रयत्नबारे बढेको सकारात्मक चासोले यस्ता सामाजिक काममा अझ प्रभावकारी ढङ्गले जुट्ने आत्मविश्वास जागेको विद्यार्थी बताउँछन् ।
मधेशका धेरै क्याम्पस अस्तव्यस्त बन्दै गएका बेला त्रिभुवन विश्वविद्यालयको आङ्गिक यो क्याम्पसले शिक्षाको दियो जगाइराखेको छ । स्नातक तहमा शिक्षा र वाणिज्य तथा स्नातकोत्तर तहमा शिक्षा सङ्कायको पठनपाठन हुँदै आएको क्याम्पसमा अहिले एक हजार २ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । छात्राको सङ्ख्या ६५ प्रतिशतको हाराहारी रहेको क्याम्पस प्रमुख खड्का बताउनुहुन्छ ।
विसं २०६४ मा स्थापित यो क्याम्पस अहिले बर्दिबास वरपरका छोरीबुहारीको उच्चशिक्षा पढ्ने रहर पु-याउने बन्दैछ । कक्षा १२ उत्तीर्ण गरेर अन्यत्र पढ्न जान नसकेका थुप्रै छोरीबुहारी स्नातक र स्नातकोत्तर पढ्न थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह