
काठमाडौँ । नेपालमा जेनजी पुस्ताले शुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनले २ दिनमै मुलुकलाई इतिहासकै असामान्य अवस्थातर्फ धकेलेको छ ।
भदौ २३ गतेदेखि शुरु भएको आन्दोलन शान्तिपूर्ण मागसहित अघि बढेको थियो । शासन गर्ने वर्गको हठ र सुरक्षा संयन्त्रको कमजोरीसँगै असन्तुष्ट युवापुस्ताको आक्रोशलाई बेवास्ता गरिनुले मुलुकमा गम्भीर दुर्घटना निम्तियो । देश अहिले राजनीतिक, संवैधानिक र सामाजिक शून्यतामा पुगेको छ । जसको निकास अझै स्पष्ट भइसकेको छैन
आन्दोलनले शासन त ढल्यो । त्यति मात्रै हैन, मुलुक नै जल्यो । प्रदर्शन नियन्त्रणका क्रममा भएको अत्यधिक बल प्रयोगले जेनजी आन्दोलनकारीहरुको ज्यान गयो । ४ सयभन्दा बढी घाइते भए । हालसम्म मृत्यु हुनेको संख्या २४ नाघिसकेको छ ।
जेनजी प्रदर्शनकारीको मृत्युले आन्दोलनलाई अझै हिंसात्मक बनाउँदै राज्यका सबै संरचनामा प्रत्यक्ष आक्रमण निम्त्यायो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भौतिक संरचना खरानी भए ।
सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, शीतल निवासदेखि प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूसम्मका निवासहरू आक्रमणमा परे । अभिलेख, तथ्यांक र संवैधानिक निकायका महत्वपूर्ण दस्तावेज ध्वस्त भए । मुलुकका प्रशासनिक नशा नै काटिएको स्थिति छ ।
शासन सञ्चालन गर्ने कार्यकारी प्रमुख केपी शर्मा ओलीले मंगलबार राजीनामा दिए पनि त्यो पर्याप्त निकास बनेको छैन । बरु, अहंकारपूर्ण ढिलाइका कारण आन्दोलनकारीको आक्रोश असंयमित रूपमा फैलियो । नेताहरूमाथि व्यक्तिगत आक्रमण, पार्टी कार्यालयमा आगजनी, व्यापारी र मिडिया घरानामाथि यो हालसम्मको तोडफोड एवं आगजनी यसअघि देखिएको थिएन ।
बुढानीलकण्ठस्थित निवासमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवा भौतिक आक्रमणमा परेर घाइते भए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चितवन घरमा आगजनी भयो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित निवासमा आगजनी गरिँदा उनी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवासदेखि लिएर धेरै नेताहरुको घर र निवास आक्रमणमा परे । राज्यका निकाय मात्र नभएर समाजको नाडी जोगाउने अस्पतालदेखि विमानस्थलसम्म आन्दोलकारीको निशानामा परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही घण्टा बन्द भयो ।
राजधानीका मुख्य अस्पताल घाइतेले भरिए पनि एम्बुलेन्स र आवश्यक सेवा अवरुद्ध भए । दमकलसम्म आगलागी नियन्त्रणमा पुग्न सकेनन् । यस्तो बेलामा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिए पनि आन्दोलनकारीलाई प्रत्यक्ष रोकेको देखिएन ।
प्रहरीले नियन्त्रण गुमाएपछि थुप्रै हतियार आन्दोलनकारीको हातमा पुगे । विभिन्न कारागारबाट कैदीबन्दी फरार भए । यसले कानुनी शासनको संरचना समेत धराशायी बनाएको छ ।
नेपाल यस अवस्थाबाट कसरी उठ्ने रु भन्ने प्रश्न उठेकै छ । आन्दोलनकारी युवापुस्ताका मागहरू पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरोधी एजेन्डामा आधारित थिए । जुन जायज पनि थिए । तर, दमनसँगै त्यही आन्दोलनले हिंसात्मक रूप लियो ।
देशभर आगजनी र तोडफोड भए । घटनाको प्रकृति र परिस्थिति हेर्दा घुसपैठ भएको पक्कै देखिन्छ । यसको जिम्मा राज्यसत्ता र राजनीतिक नेतृत्वले लिनैपर्छ । अहंकारपूर्ण नेतृत्व, असंवेदनशील सुरक्षा संयन्त्र र असन्तुष्ट समाजबीचको खाडल अहिलेको संकटको मूल कारण हो ।
अबको चुनौती निकास दिनु हो । सेना, प्रहरी वा राज्यका अंगहरु मात्रले यो संकट पार लगाउन सक्दैनन् । सबै समुदाय, शक्ति र नागरिकबीच सहमति खोज्नैपर्छ । हिमाल, पहाड र तराईबीचको एकतालाई अझ मजबुत बनाउनुपर्छ । संवैधानिक मूल्य र लोकतान्त्रिक मान्यतालाई आधार बनाएर मात्र दीर्घकालीन समाधान सम्भव छ ।
राज्यका संरचना खरानी भए पनि पुनर्निर्माणको बाटो बन्द भएका छैनन् । यो पुनर्निर्माण भौतिक मात्र नभएर राजनीतिक र सामाजिक पनि हुनुपर्नेछ ।
अराजकतालाई रोक्दै, विधिको शासनलाई पुनःस्थापित गर्दै, जनतामा आशा जगाउने नेतृत्व आवश्यक छ । त्यसका लागि पुरानो परम्परागत सोच त्यागेर नयाँ पुस्ताको आवाजलाई स्वीकार्नैपर्छ ।
आजको यो संकट नेपाली समाजमा रहेको असन्तुष्टि र निराशाको असंयमित अभिव्यक्ति हो भन्नेमा दुईमत छैन । यदि यसलाई समयमा बुझेर नेतृत्वले जिम्मेवारीपूर्वक सम्बोधन गर्न सकेको भए यो बीभत्स स्थिति आउँदैनथ्यो । अब संकटलाई परिवर्तनको मोडमा लैजार्नैपर्ने बाध्यता आइलागेको छ । जेनजी पुस्ता हिंस्रक छैन । उनीहरूलाई राज्यले सुन्नुपर्ने हो । गोली हान्न हुँदैन थियो ।
समग्रमा नेपाल अहिले अभूतपूर्व शून्यतामा पुगेको छ । तर, यही खरानीबाट नयाँ नेपाल उठ्ने अवसर पनि छ । शासक वर्गले अहंकार त्यागेर नागरिकको आवाज सुन्ने र देशहितलाई केन्द्रमा राख्ने निर्णय गर्नु नै अबको प्रमुख सर्त हुनुपर्छ । नभए यो शून्यता अझै बढेर मुलुक झन् ठूलो संकटमा फस्नेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह