
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गर्नुभएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत्को सुविधा पु-याउन सफल भएको बताउनुभयो । ‘निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं रुपैयाँ कमाउन सफल भयो । प्राधिकरणको सम्पत्ति करिब तीन गुणा वृद्धि गरी आर्थिक र प्राविधिक रूपमा यसलाई सशक्त र आत्मनिर्भर बनाइयो’ घिसिङले भन्नुभयो– ‘यो नाफा जनताकै सुविधा र विद्युत् पूर्वाधार विकासमा पुनः लगानी भएको छ ।’
आव २०७२ र ७३ सम्म प्राधिकरणको सञ्चित घाटा करिब ३५ अर्ब रुपैयाँ रहेको र त्यही आवको मात्रै घाटा करिब ९ अर्ब रहेकोमा आव २०७३ र ७४ बाट निरन्तर नाफामा ल्याई सञ्चित घाटा पूर्ति गरी आव २०८० र ८१ सम्ममा सञ्चित नाफा करिब ४७ अर्ब रुपैयाँ पुगेको उहाँले जानकारी दिनुभयो ।
आव २०७२ र ७३ मा प्राधिकरणको कूल सम्पत्ति करिब २११ अर्ब रुपैयाँ रहेकामा हाल करिब ६४४ अर्ब रुपैयाँ पुगेको छ । यो नाफा महशुल वृद्धि गरेर भएको हैन बरु यस अवधिमा पटक(पटक गरी ३ पटकमा करिब २५ प्रतिशत महशुल घटाउँदा पनि भएको नाफा हो ।
प्राधिकरणले स्थापनाकालदेखि नेपाल सरकारलाई विभिन्न शीर्षकमा आव २०७२ र ७३ सम्म ३२ वर्षमा करिब २६ अर्ब रुपैयाँ भुक्तानी गरेकामा पछिल्लो आठ वर्षमा सावाँ, ब्याज, कर तथा रोयल्टीसमेत गरी कूल ८२ अर्ब रुपैयाँ भुक्तानी गरेको छ ।
पछिल्लो आठ वर्षमा प्राधिकरणले मात्र करिब एक खर्ब रुपैयाँ उत्पादन, प्रसारण र वितरण संरचनामा लगानी गरेको छ, भने सहायक र सम्बद्ध कम्पनीमा करिब ५७ अर्ब रुपैयाँ लगानी गरेको घिसिङले जानकारी दिनुभयो । वर्षायाममा समेत विद्युत आयात गर्नुपर्ने अवस्था रहेकोमा विगत तीन वर्षदेखि वर्षायाममा भारतमा विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सफल भएको उहाँको भनाइ छ ।
गत आवबाट विद्युत् आयातभन्दा निर्यात बढी गरी करिब १७ अर्बको विद्युत् निर्यात भएको थियो । साथै नेपालसँग सीमा नजोडिएको तेस्रो देश बङ्गलादेशसम्म पनि गत नोभेम्बरबाट ४० मेगावाट विद्युत् निर्यात गर्न शुरु भएको छ ।
आव २०७२ र ७३ मा करिब २६ प्रतिशत विद्युत् प्रणालीको चुहावट रहेकामा आव २०८० र ८१ मा १२.७३ प्रतिशत कायम गर्न सफलता प्राप्त भएको जानकारी दिँदै घिसिङले यसबाट प्राधिकरणको वित्तीय अवस्था सुधार गर्न ठूलो योगदान पुगेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा