
चितवन । नेपालमा उत्पादित हाइब्रिड मकैको बीउ बजारमा नपाउँदा विदेशी बीउको प्रयोग गर्न बाध्य भएको यहाँका किसानले गुनासो गरेका छन् ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनले आयोजना गरेको हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी आवासीय कृषक तालिमको समापनमा किसानले स्वदेशी हाइब्रिड बीउ पाउन समस्या हुने गरेको बताएका हुन् ।
दैलेखबाट तालिममा सहभागी हुन आउनुभएकी खगेश्वरी बुढा नेपालीले हाइब्रिड बीउ बजारमा नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘विदेशी बीउ बजारमा सहज रूपमा पाइन्छ । स्वदेशी उत्पादन पाउन कठिन छ ।’
उत्पादन राम्रो र रोग कीराले नखाने भए अहिले लाइन बस्दा पनि नेपाली बीउ पाउन नसकिएको उहाँले गुनासो गर्नुभयो । तालिममा सिकेका सीपलाई गाउँमा रहेका कृषकलाई सिकाउँदै नेपाली बीउको प्रयोग बढाउन आफूहरू जुट्ने बुढाको भनाइ छ ।
नवलपरासीका किसान कुस्मखर काफ्लेले किसानलाई व्यावसायिक बनाउन अर्गानिक उत्पादनमा जोड दिन आवश्यक रहेको बताउनुभयो । स्वदेशी बीउ उत्पादन गरेर बजारीकरण गर्नसके यहाँको हावा पानी सुहाउँदो हुने र उत्पादन बढ्ने उहाँको बुझाइ छ । उहाँले भन्नुभयो– ‘विदेशी बीउको अनुपातमा नेपाली बीउ पुग्न सकेको छैन ।’
नेपाल कृषि अनुसन्धान परिषद्का योजना तथा समन्वय निर्देशक भानुभक्त पोखरेलले नेपाली हाइब्रिडको प्रभावकारिताका बारेमा जानकारी नहुँदा यसको उत्पादन कम देखिएको बताउनुभयो । उहाँका अनुसार किसानका समूह र स्थानीय निकायसँगको समन्वयमा यसलाई बढाउन आवश्यक छ ।
उहाँले भन्नुभयो– ‘नेपाली किसानमा भूमिको सदुपयोग कसरी गर्ने भन्ने ज्ञान नहुँदा हाइब्रिड मकैले उचित स्थान पाउन नसकेको हो ।’ बीउ उत्पादन कार्यक्रमलाई व्यावसायिक गर्नसके विदेशी बीउ आयात रोक्न सकिने उहाँले धारणा राख्नुभयो ।
परिषद्का बाली तथा बागवानी अनुसन्धान निर्देशक विनेशमान साखले नेपालमा उत्पादित हाइब्रिडभन्दा विदेशी जातले यहाँको धेरै भूमि ओगटेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘आयातित बीउले ६० प्रतिशत क्षेत्र ओगटेको छ ।’ अनुसन्धान गरिएका बीउहरू नेपालका लागि सुहाउँदो भए पनि विदेशी बीउको प्रयोग बढ्नु खोजीको विषय भएको बताउँदै उहाँले प्राविधिक विषयको ज्ञान कृषकलाई हुन आवश्यक रहेकामा जोड दिनुभयो ।
राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमा १० जातका हाइब्रिड मकैका बीउ सिफारिस भइसकेको जनाउँदै किसानको रुचिमा रामपुर हाइब्रिड १०, १२, १४ र १६ मात्रै पर्दा आवश्यकताअनुसार उत्पादन गर्न नसकिएको बताउनुभयो । तल्लो तहसम्म बीउ पु¥याउन निजी कम्पनीसम्म पुग्नुपर्ने भन्दै उहाँले यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
चैत ५ गतेदेखि सञ्चालित तालिममा देशका विभिन्न जिल्लाका २० जना कृषकलाई हाइब्रिड मकै बीउ उत्पादन तथा खेती प्रविधिसम्बन्धी ज्ञान दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा