
खोटाङ । नेपाल नेत्रज्योति सङ्घ खोटाङले दिक्तेल बजारमा तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । पहिलो दिन शनिबार ३४ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा, लहानको प्राविधिक सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बन्दोबस्तीमा शुरु भएको शिविरमा उपचारका लागि दुई सय ५७ बिरामी आएका थिए । शिविर चैत ११ गतेसम्म सञ्चालन हुने आयोजक नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा शल्यक्रिया, आँखा जाँच, औषधि तथा चश्मा वितरण गर्ने कार्यक्रम रहेको छ ।
आँखाको शल्यक्रिया गरिएका बिरामीलाई खाना, खाजा तथा बासजस्ता सेवा निःशुल्क प्रदान गरिने आयोजकले जनाएको छ । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्यचिकित्सक दिवाकर चौधरी, आँखा उपचार केन्द्र दिक्तेलका नेत्र सहायक हरिहर श्रेष्ठससहित १६ चिकित्सक टोलीले सेवा प्रदान गरिरहेको छ । जिल्लाका तीन ठाउँमा सञ्चालन गर्नेगरी शुरु गरिएको शिविर यसअघि चैत ४, ५ र ६ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा सञ्चालन गरिएको थियो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा ४७ जनाको शल्यक्रिया, तीन सय ९२ जनाको आँखा जाँच, ३४ ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण र तीन सय १० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
नेत्रज्योति सङ्घले चैत १४, १५ र १६ गते हलेसी तुवाचुङ नगरपालिकासँगको समन्वयमा हलेसीबजारमा निःशुल्क शिविर सञ्चालनको तयारी गरेको छ । यसपटकको शिविरमा जिल्लाका करिब दुई हजार आँखाका बिरामीले सेवा लिने अनुमान गरिएको आयोजकले जनाएको छ । जिल्लामा एक हजार पाँच सय ४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविरको आयोजना गरिएको अध्यक्ष कसजूले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले गर्नुभएको थियो । विसं २०६० वैशाख १० गतेदेखि जिल्लामा औपचारिक रुपमा सेवा शुरु गरेको नेत्रज्योति सङ्घले २७ हजार पाँच सय एक जनाको उपचार गरिसकेको छ ।
सेवा शुरु गरेयता जिल्लाका ३ हजार ३८ ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ । शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पतालले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा