
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले सात सय ५० किसानलाई कृषि सामग्री वितरण गरेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यले यहाँका किसानलाई ५१ लाख रुपैयाँ बराबरको कृषि सामग्री वितरण गरिएको हो ।
गाउँपालिकाले किसानको मागको आधारमा ५० प्रतिशत अनुदानमा आवश्यक कृषि सामग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । किसानलाई व्यावसायिक अकबरे खुर्सानीखेतीको लागि मल्चिङ प्लाष्टिक, प्लाष्टिक टनेल, हातेट्र्याक्टर, प्लाष्टिक पोखरी, स्प्रे गरी ५१ लाख रुपैयाँ बराबरको कृषि सामग्री हस्तान्तरण गरिएको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो ।
‘किसानलाई ५० प्रतिशत लागत साझेदारीमा कृषि सामग्री वितरण गरिरहेका छौँ’ प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो– ‘पहिलो चरणमा ५१ लाख रुपैयाँ बराबरको कृषि सामग्री बोलपत्रमार्फत आह्वान गरेर वितरण थालेका छौँ । यो वर्ष करिब ७० लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गर्ने लक्ष्य छ ।’
किसानलाई १ हजार ५ सय रोल मल्चिङ प्लाष्टिक, सात सय वटा टनेल प्लाष्टिक, ७८ वटा इलेक्ट्रिक स्पेरियर, १५ हाते ट्र्याक्टर विरतण गरिने उहाँको भनाइ छ । किसानले गरिरहेको व्यवसायको आधारमा आवश्यक सहयोग गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । किसानलाई व्यावसायिक बनाएर आर्थिक रुपमा सक्षम बनाउन ठूलो लगानीमा कृषि सामग्री वितरण गरिएको उपाध्यक्ष राईको भनाइ छ ।
‘हामीले किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्दै आएका छौँ’ उपाध्यक्ष राईले भन्नुभयो– ‘किसानलाई मागका आधारमा सहयोग गरेका हौँ ।’ किसानलाई वर्षेनी आवश्यक कृषि सामग्री वितरण भइरहेको उपाध्यक्ष राईले बताउनुभयो ।
यहाँको भूगोलअनुसार पकेट क्षेत्र निर्धारण गरेर कृषिमा योजनाबद्ध रुपमा लगानी गरिरहेको गाउँपालिकाले जनाएको छ । कृषिमा नमूना बनाउने लक्ष्यका साथ लगानी गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । यहाँको उत्पादित कृषिउपजको बजारीकरणमा गाउँपालिकाले भूमिका खेल्ने अध्यक्ष राईको भनाइ छ ।
‘कृषि क्षेत्रको दिगो विकासबाट मात्र किसानलाई आर्थिक रुपमा सक्षम बनाउन सकिन्छ’ अध्यक्ष राईले भन्नुभयो– ‘हामीले कृषिको योजनाबद्ध विकासका लागि काम गरिरहेका छौँ । कृषिमा लगानी गरिएसँगै गाउँपालिकामा अकबरे खुर्सानीबाट मात्र करोडौँ आम्दानी भित्रने थालेको छ । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो लक्ष्य छ । त्यहीअनुसार किसानलाई प्रोत्साहन हुने खालका कार्यक्रममा जोड दिएका छौँ ।’
गाउँपालिकाले कृषि सामग्रीसँगै अन्य सहयोग गरेपछि व्यावसायिक ढङ्गले कृषिमा लाग्न प्रोत्साहन मिलेको स्थानीय किसान टेकबहादुर थापाले बताउनुभयो । विगतबाट नै गाउँपालिकाले किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ ।
‘गाउँपालिकाले गरेको सहयोगले कृषिमा लाग्न प्रोत्साहन मिलेको छ’ उहाँले भन्नुभयो– ‘विभिन्न समयमा गाउँपालिकाले कृषि सामग्री दिँदै आएको छ । यो पटक मैले एक रोल मल्चिङ प्लाष्टिक पाए । मल्चिङ गरेर व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गर्ने सोच छ ।’
पौवादुङमा गाउँपालिकाले कृषकलाई प्रोत्साहन गर्न गरिरहेको काम प्रशंसायोग्य रहेको स्थानीय किसान बालकुमार खड्काले बताउनुभयो । गाउँपालिकाको सहयोगले कृषिमा लाग्न थप टेवा पुगेको उहाँको भनाइ छ । ‘गाउँपालिकाले कृषिको क्षेत्रमा गरिरहेको काम राम्रो छ’ उहाँले भन्नुभयो– ‘विगतदेखि नै गाउँपालिकाले कृषकलाई सहयोग गर्दै आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा