
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना शुरु भएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले म्याग्दी नदीको कटानको जोखिममा रहेको तातोपानीको बस्ती संरक्षण आयोजना सञ्चालन गरेका हुन् ।
बेनी –४ का वडाध्यक्ष अणबहादुर खड्काले चालु आर्थिक वर्ष २०८१ र ८२ मा सङ्घीय र प्रदेश सरकारको विनियोजन गरेको बजेटबाट म्याग्दी नदी किनारको फरकफरक ठाउँमा पक्की पर्खाल निर्माण थालिएको बताउनुभयो । एक करोड ५५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको साहाना–बिआरटी जेभी पर्वतले सरस्वती मावि मुनी कम्पोजित प्रविधिको पर्खाल निर्माण थालेको हो । यो योजनाका लागि २ करोड ७० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो ।
म्याग्दी नदीको किनारमा कटान नियन्त्रणका लागि ६६ मिटर लामो, चार मिटर चौडाइ भएको तीन–तीन मिटर अग्लो कङ्क्रिट र त्यसमाथि ग्याविन पर्खाल निर्माण गरिने सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर नरजङ गुरुङले बताउनुभयो ।
यो ठेक्काको काम यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको कामलाई तीव्र पारिएको छ । जलस्रोत, सिँचाइ तथा खानेपानी डिभिजन कार्यालयले विनियोजन गरेको ५० लाख रुपैयाँबाट ठेक्का पाएको कम्पनी शान्ति निर्माण सेवाले उपल्लो तातोपानी बजारको पछाडि पक्की पर्खाल निर्माण थालेको छ । यो ठेक्कामार्फत ४० मिटर लामो पलम, सेयर र ग्यावियन पर्खाल निर्माण गर्न लागिएको हो ।
विसं २०७८ मा म्याग्दी नदीमा आएको बाढीले तातोपानीस्थित फापरखेत र मसारमा कटान गरेको थियो । मसारमा दुईवटा घर भत्किएका थिए । फापरखेतमा रहेको सरस्वती मावि, ज्वालामाई भगवती आमा समूहको भवन र मसारको १७ घर नदी कटानको जोखिममा छन् । करिब एक सय घरपरिवारको बसोबास रहेको उपल्लो तातोपानी बजार पनि नदी कटानको जोखिममा छ ।
यसअघि ग्यावियन पर्खाल निर्माण गरेर नदी नियन्त्रण गरिँदै आएकामा यसपालिदेखि पक्की पर्खाल निर्माण गर्न थालिएको वडाध्यक्ष खड्काले बताउनुभयो । प्राकृतिक उपचारस्थलका रूपमा परिचित सिङ्गा तातोपानी र बेनी बजारमा नदी कटान नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बहुवर्षीय स्रोत सुनिश्चित भएको १० करोड रुपैयाँको योजना कार्यान्वयनका लागि पनि ठेक्का आह्वान भएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका इन्जिनियर गुरुङका अनुसार तातोपानीमा एक सय दुई मिटर र बेनीको दरवाङ बजार पछाडि एक सय ६५ मिटर कम्पोजित पर्खाल निर्माण गर्न ठेक्का आह्वान भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा